मंगलवार, आश्विन १३ गते २०८३

अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

सोमवार , आश्विन १२, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले वर्षाले जोखिम बढाएका कारण सतर्कता अपनाउन आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले विपद्मा परी ज्यान गुमाउनेहरु सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शाहले विपद्मा परी घाइते भएका पाँच नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले उल्लेख गरे ।

यही असोज ८ गतेदेखि केहीबेर अघिसम्मको विवरणअनुसार चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेतलगायत जिल्लामा गरी २१ नागरिकले ज्यान गुमाउनुभएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।


प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा उच्च सतर्कता अपनाउन अनुरोध पनि गरेका छन्।

साथै अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोला र कुनै पनि सङ्कट पर्दा शुल्क नलाग्ने नम्बर १२३४ मा फोन गर्न पनि उनको आग्रह छ ।

प्रधानमन्त्री शाहले यस्तो विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको उल्लेख गरेका छन्।

साथै पीडितलाई थप पीडा दिने कार्य कसैबाट पनि हुनुहुँदैन, सङ्कटका बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार