काठमाडौं । बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँधको ‘स्याडल ड्याम’ को मर्र्फमर्मत सुरु भएको छ।
ड्यामको खोल्सोमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएपछि त्यसको मर्मतसम्भार सुरु गरिएको छ ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास बैङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल मर्मतसम्भार सुरु गरिएको हो ।
महानिर्देशक डा. श्रेष्ठले ड्याममा जडान गरिएको ह्युमपाइपको जोर्नीमा पानी चुहिएर समस्या उत्पन्न भएको बताए। सतर्कता अपनाउनुका साथै मर्मतसम्भार सुरु गरिएको उनले जानकारी दिए।
प्राविधिक टोलीले गरेको स्थलगत निरीक्षण अनुसार मुख्य ड्यामको संरचनामा सिधै क्षति पुगेको छैन । तल्लो तटीय क्षेत्र (काठमाडौँतर्फ) मा तत्कालै ठुलो प्राकृतिक जोखिम नरहेको प्राविधिकहरूको निष्कर्ष छ ।