सोमवार, आश्विन २६ गते २०८३

बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जना काठमाडौँ ल्याइयो

आइतवार , आश्विन २५, २०८३

काठमाडौं ।बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ ल्याइएको नेपाली सेनाले जनाएको छ ।


बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकोप्टर तथा स्थलमार्गबाट सैनिक टोली परिचालन गरिएको छ ।

अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँगको समन्वयमा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।


बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि उक्त क्षेत्रको सडक सम्पर्क प्रभावित भएको छ । पुल क्षतिग्रस्त हुँदा आरुघाट र धादिङबीच उक्त पुल भएर हुने सवारी आवागमन अवरुद्ध भएको छ ।

यसले स्थानीयवासीको आवतजावत तथा प्रभावित क्षेत्रमा सडकमार्गबाट राहत सामग्री र उद्धार टोली परिचालन गर्न कठिनाइ सिर्जना गरेको छ ।


पुल बगाएको स्थानमा सडक सम्पर्क पुनःस्थापनाका लागि बेलिब्रिज जडान गर्ने तयारी गरिएको छ । त्यसका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली प्रभावित क्षेत्रमा खटिएको जनाईएकाे छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार