काठमाडौँ । पछिल्लो करिब ६ महिनामा नेप्से परिसूचक करिब ४ सय अंकले घटेपछि सरकारले शेयर बजारलाई लक्षित गर्दै छुट्टै सुधार प्याकेज तयार गर्ने भएको छ।
अर्थ मन्त्रालयले लगानीकर्ताको मनोबल बढाउने र पूँजी बजारलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित ‘पूँजी बजार सुदृढीकरण तथा शेयर बजार सुधार योजना’ तयार गर्न थालेको हो। बाढी तथा हिमपहिरोका कारण अर्थतन्त्रमा थप चुनौती सिर्जना भएपछि सरकारले प्रत्यक्ष प्रभावित व्यवसायीका लागि पहिलो चरणको पुनरुत्थान प्याकेज ल्याएको दुई दिनमै समग्र अर्थतन्त्रलाई पुनः गतिशील बनाउने गरी थप चारवटा प्याकेजमा काम अघि बढाएको हो।
अर्थ मन्त्रालयका अनुसार थप चारमध्ये शेयर बजारसँग सम्बन्धित प्याकेजलाई प्राथमिकतामा राखिएको छ। उक्त प्याकेज यसै साता घोषणा गर्ने तयारी छ। यद्यपि प्याकेजमा शेयर बजारका लागि के–कस्ता व्यवस्था राखिनेछन् भन्ने विषयमा भने अहिले नै निर्णय भइसकेको छैन।
अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्र एउटा लयमा अघि बढाउने प्रयास भइरहेका बेला भीषण विपद्को प्रहार भएको भन्दै तत्कालै विभिन्न प्याकेजमार्फत पुनरुत्थानको काम अघि बढाउन थालिएको बताएका छन्। उनका अनुसार विपद्को प्रत्यक्ष असरबाट प्रभावित व्यवसायीलाई राहत दिन मात्रै नभई समग्र निजी क्षेत्र र देशवासीको मनोबल उकास्ने गरी रणनीति बनाउन थालिएको छ।
पछिल्लो करिब ६ महिनामा नेप्से परिसूचक करिब ४ सय अंकले घटेको छ। बजार परिसूचकमा आएको यो गिरावटसँगै शेयर बजारको कुल बजार पूँजीकरणमा समेत ठूलो कमी आएको छ। उपलब्ध विवरणअनुसार यस अवधिमा करिब ७ खर्ब रुपैयाँ बराबरको शेयर सम्पत्तिमा ह्रास आएको छ।
बजारमा आएको गिरावटले लगानीकर्ताको सम्पत्तिमा प्रत्यक्ष असर पारेको छ भने निजी क्षेत्र तथा समग्र अर्थतन्त्रको मनोबलमा समेत असर पर्न सक्ने अवस्था बनेको अर्थ मन्त्रालयको बुझाइ छ। त्यसैले सरकारले अहिले शेयर बजारलाई समग्र आर्थिक पुनरुत्थानकै एउटा महत्वपूर्ण पक्षका रूपमा लिएर छुट्टै योजना बनाउन थालेको हो। तर अर्थ मन्त्रालयले तयार पार्न लागेको प्याकेजबाट बजारमा तत्काल कस्तो प्रभाव पार्ने वा कुन–कुन नीतिगत व्यवस्था गरिने भन्ने विषय भने अहिले नै स्पष्ट गरिएको छैन। मन्त्रालयको तयारी अहिले प्याकेज निर्माणको चरणमा रहेको छ।