काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरेको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले आइतबार नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर राहत सामग्री जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएको राहतमा युथ चेम्बरले संकलन गरेका सामग्रीसमेत समावेश गरिएको छ।
चेम्बरका अनुसार राहत सामग्रीमा रेडिमेड सर्ट, चिउरा, विभिन्न प्रकारका बिस्कुट, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा, मास्क, टिसर्ट तथा दाललगायत सामग्री छन्।
हस्तान्तरण गरिएका सामग्रीमध्ये चिउरा ३४ बोरा तथा विभिन्न परिमाणमा थप चिउरा, कोदोको बिस्कुट ८० कार्टुन, मकै मह बिस्कुट ८३ कार्टुन, चोको चिप्स बिस्कुट ८७ कार्टुन, सेनिटरी प्याड १० कार्टुन, आयो नुन टिसर्ट ७ कार्टुन, टुथपेस्ट १ कार्टुन, टुथब्रस २ कार्टुन, पञ्जा तथा मास्क ३ कार्टुन रहेका छन्। त्यस्तै अन्य टिसर्ट २ बोरा अर्थात् २५० थान, ‘आक्र्स फुड’ लेखिएको टिसर्ट १ बोरा अर्थात् ७३ थान तथा दाल १० किलो रहेको चेम्बरले जनाएको छ।
यसैगरी, नेपाल चेम्बर अफ कमर्स र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालले सहकार्य गरी बाढी प्रभावित नागरिकका लागि खानेपानी, चाउचाउ, बिस्कुट, टुथपेस्ट, टुथब्रस, साबुन, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा तथा ग्लोभ्सलगायतका राहत सामग्री पनि हस्तान्तरण गरेका छन्।
राहत हस्तान्तरण कार्यक्रममा चेम्बरका कार्यसमिति सदस्यहरू कृष्णमान श्रेष्ठ, रोशन भोयद्यो, रुजुल श्रेष्ठलगायतको उपस्थिति थियो।
भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। विपद्पछि चेम्बरले राहत संकलन तथा वितरणसँगै उद्धार र सुरक्षा व्यवस्थापनमा समेत सहयोग गर्दै आएको जनाएको छ।
यसअघि चेम्बरले नेपाल प्रहरीलाई १७ वटा ड्रोन र विदुर नगरपालिकालाई २ वटा ड्रोन तथा १२५ वटा पावर बैंक हस्तान्तरण गरेको थियो। प्रभावित जिल्लामा तत्काल राहत पुर्याउन जिल्ला चेम्बरमार्फत नगद सहयोगसमेत उपलब्ध गराइएको चेम्बरले जनाएको छ। त्यस्तै, भारतबाट ५०० थान सोलार पावर बैंक मगाउने व्यवस्था गरिएको छ।
चेम्बरले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकारसँग सहकार्य गर्दै आएको जनाएको छ। बाढी प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न, कपडा तथा स्वास्थ्यजन्य सामग्री उपलब्ध गराउने उद्देश्यले सदस्य तथा व्यवसायीबाट राहत संकलन गरिएको र आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिइने चेम्बरले जनाएको छ।