काठमाडौँ । बाढी पहिरो पीडितको उद्धार र राहतका लागि स्थापित ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा देश–विदेशबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ ।
शुक्रबार बेलुकी साढे ६ बजेसम्म कोषमा जम्मा ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ सङ्कलन भएको अर्थमन्त्रालयले जनाएको छ ।
९ वटा वाणिज्य बैंकहरूमा खोलिएका खातामार्फत उक्त नेपाली रुपैयाँ सङ्कलन भएको हो । यसका अतिरिक्त थप दुई बैङ्क— हिमालयन र लक्ष्मी सनराइजमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर ९करिब १० करोड ३८ लाख नेपाली रुपैयाँ० जम्मा भएको छ। यो ठुलो परिमाणको सहयोग मात्र दुई दिनको अवधिमा प्राप्त भएको हो ।
राहत कोषका लागि शुक्रबार २७ वटा विभिन्न संस्था तथा व्यक्तिहरूले ३८ करोड ५५ लाख रुपैयाँ नगद अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमार्फत सरकारलाई बुझाएका छन् । यसअघि बिहीबार पनि अर्थमन्त्री वाग्लेले मात्र ६ घण्टाको अवधिमा २७ करोड ३३ लाख रुपैयाँ नगद सहयोग बुझेका थिए ।
हालको तथ्याङ्क अनुसार कोषमा प्रतिदिन औसत झन्डै सवा दुई अर्ब रुपैयाँका दरले रकम जम्मा भइरहेको देखिन्छ । विपद्को यस घडीमा स्वदेशभित्रका संघसंस्था र व्यक्तिहरूसँगै प्रवासमा रहेका नेपालीहरूले पनि मन फुकाएर सहयोग गरिरहेका छन् ।