काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढी प्रभावितका लागि आधिकारिक कोषमा मात्र सहयोग गर्न अपिल गरेकोछ ।
कार्यलयले शुक्रबार विज्ञप्ती जारी गर्दै कार्यालयले अनधिकृत व्यक्ति वा समूहले व्यक्तिगत खाता र क्यूआर कोड प्रयोग गरी रकम संकलन गरिरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी रकम संकलन भइरहेको भन्दै कार्यलयले सर्वसाधारणलाई सजग रहन अपिल गरेको छ ।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको सन्दर्भमा केही व्यक्ति तथा संस्थाहरुले जथाभावी अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेको पाइएको कार्यालयले उल्लेख गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्यूआर कोडमा मात्र सहयोग गर्न अनुरोध गरिन्छ ।’’