काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘एकीकृत दूरसञ्चार नीति’ को मस्यौदा तयार गरी सरोकारवालाहरूसँग राय सुझाव माग गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै उक्त मस्यौदामाथि प्रतिक्रिया दिन आह्वान गरेको हो ।
विद्यमान दूरसञ्चार सम्बन्धी कानुनहरूलाई समयसापेक्ष परिमार्जन गर्ने र कार्यान्वयन संयन्त्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ नीतिको मस्यौदा तयार पारिएको प्राधिकरणले जनाएको छ । दूरसञ्चार सेवालाई गुणस्तरीय, सुरक्षित, भरपर्दो र सर्वसुलभ बनाई सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगमार्फत देशको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्य नीतिको रहेको छ ।
प्राधिकरणका अनुसार डिजिटल रूपान्तरणको माध्यमबाट देशलाई समृद्ध बनाउने सोचका साथ यो एकीकृत नीति अगाडि सारिएको हो। उक्त मस्यौदामा सरोकारवाला सबैले आफ्नो राय, सुझाव तथा प्रतिक्रिया दिन सक्नेछन् ।
प्राधिकरणले मस्यौदालाई आफ्नो आधिकारिक वेबसाइट www.nta.gov.np मा सार्वजनिक गरेको छ। इच्छुक व्यक्ति वा संस्थाहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्ना सुझावहरू उपलब्ध गराइसक्नुपर्नेछ।