काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२\८३ को वित्तीय प्रतिवेदनअनुसार प्राधिकरणको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ।
गत आर्थिक वर्षमा प्राधिकरणले ५ अर्ब ४ करोड रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा प्राधिकरणको खुद नाफा ८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। प्राधिकरणको नाफा अघिल्ला वर्षहरूका तुलनामा निरन्तर घट्दो क्रममा देखिएको छ।
आर्थिक वर्ष २०८०र८१ मा प्राधिकरणले १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको थियो।
नाफा घट्नुका मुख्य कारणहरू
प्राधिकरणका अनुसार विद्युत् बिक्री र अन्य आम्दानीमा वृद्धि भए तापनि विदेशी विनिमय दरमा भएको वृद्धि र वित्तीय खर्चका कारण खुद नाफा प्रभावित भएको जनाएको छ।
विदेशी विनिमय दर वृद्धिका कारण प्राधिकरणको दायित्व मात्रै २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यसका साथै ब्याज खर्च, ह्रासकट्टी र इम्पेयरमेन्ट नोक्सानीमा भएको वृद्धिका कारण नाफा खुम्चिएको प्राधिकरणको दाबी छ।
खुद नाफा घटे पनि प्राधिकरणको कुल आम्दानी र सञ्चालन मुनाफामा भने सुधार देखिएको छ। आर्थिक वर्ष २०८२\८३ मा प्राधिकरणले विद्युत् बिक्री र अन्य माध्यमबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ।
जसमा विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ सङ्कलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशतको वृद्धि हो।
त्यस्तै, कार्यसम्पादनमा सुधार र चुहावट नियन्त्रणका कारण प्राधिकरणको कुल नाफा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड पुगेको छ भने सञ्चालन मुनाफा ७.२८ प्रतिशतले बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
विद्युत् चुहावट अघिल्लो वर्षको १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा झरेको छ। प्रणालीमा ५२९ मेगावाट विद्युत् थप भई कुल जडित क्षमता ४ हजार १२० मेगावाट पुगेको छ। प्राधिकरणको ग्राहक सङ्ख्या ३.८५ प्रतिशतले बढेर ५९ लाख २७ हजार पुगेको छ। ५ एम्पियरका २५ लाख ८८ हजारभन्दा बढी घरेलु ग्राहकले २१ करोड ७३ लाख युनिट विद्युत् निःशुल्क प्राप्त गरेका छन्।
अनलाइनमार्फत महसुल सङ्कलनमा उल्लेख्य वृद्धि भई ४० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ।