काठमाडौं । बजारमा उधारो कारोबार बढेकोमा उद्योगी तथा व्यवसायीले चिन्ता व्यकत गरेका छन् । बढ्दो उधारो कारोबार व्यवस्थापनका लागि उधारो असुलीसम्बन्धी छुट्टै कानुन ल्याउन उनीहरुले सरकारसँग माग गरेका छन् ।
साथै, यस्तो कानुन ल्याउने विषयमा सरकारलाई दबाब दिन व्यवसायीहरु एकजुट भएर लाग्नुपर्ने पनि उनीहरुको भनाई छ । शुक्रबार भक्तपुरको गठ्ठाघरमा आयोजित नेपाल वितरक संघको २५औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह–२०८३मा उपस्थित व्यवसायीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डेले बजारमा व्यवसायीको ठूलो रकम फसेको बताए ।
त्यसको असुली गर्न निकै लामो समय लाग्ने बताउँदै उनले उधारो असुलीसम्बन्धी कानुनको अति आवश्यक भएको बताए । उपाध्यक्ष पाण्डेले उधारो असुलीसम्बन्धी प्रभावकारी कानुन निर्माणका लागि सम्पूर्ण निजी क्षेत्रका प्रतिनिधिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
व्यवसायीको हित संरक्षणका लागि साझा आवाज उठाउनुपर्ने उनको भनाइ थियो। उनले सरकारले निजी क्षेत्रका समस्या सुन्न इच्छुक नदेखिएको गुनासो गर्दै अर्थतन्त्र सुधार र व्यवसायमैत्री नीतिका विषयमा सम्बन्धित मन्त्रीहरूसँग छलफल गर्न जाँदा समेत समय अभावको कारण देखाएर पन्छिने गरेको बताए ।
मन्त्रीहरूले व्यवसायीका समस्या गम्भीर रूपमा सुन्नेभन्दा औपचारिक भेटघाट र तस्बिर खिच्नमै सीमित हुने गरेको टिप्पणी गर्दै उनले निजी क्षेत्रका वास्तविक समस्याको समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए।
कार्यक्रमका अन्य सहभागीले विभिन्न सरकारी निकायबाट वितरक तथा व्यवसायीहरू अनावश्यक झन्झट र दबाबमा पर्ने गरेको गुनासो गर्दै व्यवसाय सञ्चालनका लागि सहज र विश्वासिलो वातावरण निर्माण गर्न सरकारसँग माग गरे।