काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध दुई करोढ २६ लाख १३ हजार रुपैयाँ बिगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौधरीले पदीय मर्यादा विपरीत गैर कानुनी रुमा उक्त रकम आर्जन गरेको आयोगले जनाएको छ । आयोगका अनुसार इन्जिनियर चौधरी सेवामा प्रवेश गरेको मिति २०६५ पुस ११ गतेदेखि २०८१ असार २९ गतेसम्मको जाँच अवधिमा उनको कुल वैधानिक आय २ करोड ७२ लाख ५५ हजार ७६६ रूपैयाँ देखिएको छ ।
सोही अवधिमा उनको खर्च तथा लगानी (व्यय) भने ४ करोड ९८ लाख ६८ हजार ८८९ रूपैयाँ मात्र छ ।
कुल आयको तुलनामा व्यय बढी देखिएको र सो बढी देखिएको २ करोड २६ लाख १३ हजार १२३ रूपैयाँको वैधानिक स्रोत नखुलेकाले उक्त रकम भ्रष्टाचार गरी आर्जन गरेको अख्तियारको निष्कर्ष छ ।
अवैध रूपमा आर्जन रकम पत्नी अर्पना कुमारीको घर(जग्गा खरिद तथा अन्य क्षेत्रमा लगानी देखिएको भन्दै उक्त सम्पत्ति जफत प्रयोजनका लागि अर्पनालाई पनि प्रतिवादी बनाइएको छ ।
चौधरीविरुद्ध जरिवाना र कैद सजायको मागसहित वास्तविक सम्पत्ति लुकाएको र झूटो विवरण पेस गरेको अभियोगमा थप सजायको दाबी गरिएको छ ।