काठमाडौं । औद्योगिक कच्चापदार्थका रूपमा आयात गरिएको केराउ दाल उद्योगमै प्रयोग हुनुपर्नेमा सोही उद्योगीहरूले दाल नबनाई सिधै दाना रूपमा बजारमा बिक्री गरेको तथ्य सार्वजनिक भएको छ।
सरकारबाट आयात अनुमति पाएका उद्योगहरूले नै कच्चा पदार्थ उत्पादनमा नलगाई व्यापारिक रूपमा बेच्नु गैरकानुनी भएको सरोकारवालाहरूले बताएका छन्। सरकारले दाल उत्पादन प्रवर्द्धन गर्न उद्योगहरूलाई सहुलियतसहित केराउ आयात अनुमति दिएको थियो।
तर, ती उद्योगहरूले उत्पादन प्रक्रियामा प्रयोग नगरी बजारमा उच्च मूल्यमा बिक्री गरेपछि दाल उद्योगको उद्देश्य नै विफल भएको देखिएको छ। यसले एकातर्फ बजारमा दाल अभाव सिर्जना गरेको छ भने अर्कोतर्फ उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य बनाएको छ।
नाम नबताउने एक व्यवसायीका अनुसार जुन उद्योगलाई सरकारले केराउ आयात अनुमति दिएको छ, तिनै उद्योगहरूले दाल उत्पादन नगरी दानानै महँगोमा बजारमा बेचिरहेका छन् । उनका अनुसार या प्रवृत्तिकै कारण समग्र बजारमा मूल्य वृद्धि गराएको छ ।
उनले सरकारबाट अनुमति पाएका उद्योगहरूको प्रभावकारी अनुगमन हुन नसक्दा यस्तो विकृति बढेको बताए। उद्योगीहरूको यस्तो कार्यले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाएको छ भने वास्तविक उत्पादनमा आधारित उद्योगहरू मारमा परेका छन्। उपभोक्ता अधिकारकर्मीहरूले तत्काल छानबिन गरी दोषी उद्योगमाथि कडा कारबाही गर्न माग गरेका छन्।
सरकारले औद्योगिक प्रयोजनका लागि दिइएको आयात अनुमति दुरुपयोग हुन नदिन कडाइका साथ अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ। अन्यथा, यस्तो प्रवृत्तिले बजार झनै असन्तुलित हुने र उपभोक्ता थप मारमा पर्ने चेतावनी सरोकारवालाहरूले दिएका छन्।