नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो।
गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम वा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गर्थ्यो। विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भएपछि र निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन।
नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यस वर्ष भने त्यो अवस्था हटेको छ। दैनिक रूपमा यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरूका अनुसार यस वर्षको अवस्था विगतभन्दा धेरै फरक छ।
यस राजमार्गमा नियमित सवारी चलाउँदै आएका रामु भुसालले पहिले दाउन्ने पार गर्न घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाउँदा खुसी लागेको बताए। उनका अनुसार गत वर्ष पानी पर्नेबित्तिकै दाउन्नेको जाममा फस्नुपर्ने अवस्था थियो। अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा सहज भएको छ भने यात्राको समय पनि घटेको छ।
दाउन्ने क्षेत्रमा सहज रूपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुले राहत महसुस गरेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए। उनका अनुसार दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको थियो। अहिले सडक विस्तार अन्तिम चरणमा पुगेसँगै आवागमन सहज भएको छ, जसले स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले पनि गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको बताए।
उनका अनुसार गत वर्ष निर्माण कार्य र वर्षाका कारण पटक–पटक लामो जाम व्यवस्थापन गर्नुपर्थ्यो। अहिले सडकको अवस्था सुधारिएकाले सवारी सञ्चालन सहज भएको छ र सामान्य अवस्थामा लामो समय सडक अवरुद्ध हुने अवस्था आएको छैन। प्रहरी र आयोजनाबीचको समन्वयले पनि यातायात व्यवस्थापन प्रभावकारी बनेको उनले बताए।
नारायणघाट–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनियर शिव खनालका अनुसार मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको छ। उनका अनुसार हालसम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ। अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङलगायतका काम भइरहेका छन्। विगतमा जस्तो निर्माणका कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको उनले बताए।
पूर्व–पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट–बुटवल सडक एसियाली विकास बैंक ९एडीबी० को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा तथा अन्य सहायक संरचना निर्माण अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ।
सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा पनि घण्टौँ सडक अवरुद्ध हुने अवस्था यस वर्ष देखिएको छैन। रासस