काठमाडौँ ।बिहीबार बिहान साढे ११ बजेतिर कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी बेलुकी अबेरसम्म खोज तलास गर्दा फेला पर्न सकेन।
वर्षाका कारण कर्णाली नदीको पानी पुरै धमिलो बन्नु, जलसतह बढ्नु जस्ता कारणहरूले नदीमा खसेको गाडी पूरै डुबेको अवस्थामा हुनुले गोताखोरले फेला पार्न नसकेका हुन्।
दुर्घटना स्थलको भीरमा अचेत अवस्थामा फेला परेका एक जना अन्दाजी ३५ वर्षीय युवालाई जिल्ला अस्पताल दुल्लु पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवनकुमार विकले बताए।
हालसम्म पनि गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन।सुर्खेतमा ३ जना यात्रुले चलानी काटेको खुलेको छ।गाडीका चालक र सहचालक गरी उक्त गाडीमा पाँच जना सवार रहेको हुनुपर्ने अनुमान छ। तर, बाटोमा कति जना चढे भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको क।प्र।०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा खसेको थियो।
गाडी झन्डै ४०० मिटरमुनि खसेको अनुमान छ।