आइतवार, श्रावण २४ गते २०८३

असार १५ मा एक अर्ब रुपैयाँ बराबरको ७५ लाख लिटर दही खपत हुने प्रक्षेपण

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । नेपाल डेरी एसोसिएसनले स्वदेशी उत्पादनको प्रवर्द्धन तथा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित यस वर्ष पनि विशेष रूपमा ‘दही–चिउरा’ पर्व मनाएको छ ।

एसोसिएसनले असार १५ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने तथा यसबाट करिब १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने प्रक्षेपण गरेको छ।

एसोसिएसनका असार १५ लाई धान दिवससँगै ‘दही–चिउरा खाने दिन’ रूपमा समेत विशेष महत्वका साथ 
 बिहीबार  थापागाउँस्थित ‘गाउँघर चौतारी बजार’ मा विशेष कार्यक्रम आयोजान गरी मनाएको छ ।  नेपाली कृषि संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको एसोसिएसनले जनाएको छ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले सम्पूर्ण नेपालीलाई स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको प्रयोग बढाउन र नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे ।  “दही–चिउराको स्वाद, स्वदेशी उत्पादनको साथः किसान र उद्योगीको सम्मान, समृद्ध नेपालको अभियान” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए।

अध्यक्ष दाहालले नेपाली मौलिक संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न सबैलाई आह्वान समेत गरेका छन्।

स्वास्थ्यका लागि लाभदायी दही र मोही

दही नेपाली खानपानको महत्वपूर्ण परिकार मात्र नभई पोषणयुक्त खाद्य पदार्थ पनि हो। दहीमा प्रोटिन, क्याल्सियम तथा भिटामिन बी–१२ जस्ता पोषक तत्व पाइने भएकाले यसले पाचन प्रणालीलाई सुदृढ बनाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउने विज्ञहरू बताउँछन्।

त्यस्तै, परम्परागत रूपमा गाउँघरमा ठेकीमा मथेर बनाइने मोही अहिले व्यावसायिक उत्पादनतर्फ उन्मुख भएको छ। शरीरलाई शीतलता प्रदान गर्ने तथा हाइड्रेट राख्न मद्दत गर्ने मोहीको प्रयोग पछिल्लो समय घट्दै गए पनि यसको पुनः प्रवर्द्धनका लागि दुग्ध उद्योगहरूले पहल थालेका छन्।

असार १५ को अवसरमा दही तथा अन्य दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले दूध उत्पादक किसान, सहकारी संस्था र दुग्ध उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

स्वदेशी उत्पादनको उपभोग बढ्दा कृषि क्षेत्रको दिगो विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

दुग्ध क्षेत्रमा चुनौती कायम

यद्यपि उत्पादन लागत वृद्धि, बजार व्यवस्थापनमा समस्या तथा किसानले समयमै भुक्तानी नपाउने जस्ता चुनौतीहरू अझै कायम रहेको एसोसिएसनले जनाएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थपिएका चुनौती समाधान गर्न आधुनिक तथा उत्पादनमुखी प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

धान र दूध उत्पादनमा आत्मनिर्भरता हासिल नगरी ‘समृद्ध नेपाल’ को लक्ष्य पूरा हुन नसक्ने भन्दै राज्य, निजी क्षेत्र र सहकारीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

डेरी एसोसिएसनले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको प्रवर्द्धनका लागि राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने माग समेत दोहोर्‍याएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार