आइतवार, श्रावण २४ गते २०८३

भैरहवाबाट ठूलो मात्रामा खर्बुजाको बिउ नियन्त्रणमा, भारत तस्कर गर्न लागेको आशंका

बुधवार , जेठ २७, २०८३

काठमाडौं । रुपन्देहीको भैरहवाबाट ठूलो मात्रामा वाटरमेलन सिड्स (खर्बुजा) को बिउ लगायतका सामानहरु नियन्त्रणमा लिइएको छ । सिद्धार्थनगरपालिका वडा नं. १ मा पर्ने बेलहियास्थित कोठहीमाई पथबाट ति समान नियन्त्रणमा लिइएको हो । 

शंकास्पद रुपमा भन्सार तथा राजस्व छलीका सामानहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा निरीक्षणमा गएको जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकाय, भैरहवा भसार कार्यालय, सशस्त्र प्रहरी कार्यालयका टोलीले खानतालसी गरेको थियो । सो क्रममा ४१ लाख ३२ हजार दुई सय ४० रुपैंया बराबरको सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामानहरुमा वाटरमेलन सिड्स (खर्बुजाको बिउ) ५३ बोरा (२१२० किलोग्राम) रहेको छ । यसको अंकित मूल्य २३ लाख ३२ हजार रुपियाँ रहेको छ । त्यस्तै, कोलगेट पेस्ट ४४ काटुन (६,३३६ पिस) नियन्त्रणमा लिइएको छ । यसको अंकित मूल्य ५ लाख ७० हजार दुई सय ४० रुपैंया बराबरको रहेको छ । 

टोलीले ओखर २२७ बोरा (२२७० किलोग्राम) नियन्त्रणमा लिएको छ । यसको अंकित मूल्य ११ लाख ३५ हजार रुपैंया रहेको छ । त्यस्तै, मकै ३८ बोरा (९५० किलोग्राम) रहेका छन् । मकैको अंकित मूल्य ९५ हजार रुपैंया रहेको छ । 

विशेष गरेर वाटरमेलन सिड्सलाई कम भन्सार दरमा पास गराएर नेपालको बाटो हुँदै भारत तस्करी गर्न लागिएको आशंकामा अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ । वाटरमेलन सिड्सको भन्सार दर प्रति किलो ४ डलर रहेपनि भनसार कार्यालयले १.५ डलरमै पास गराएको आशंका गरिएको छ । 

नियन्त्रणमा लिइएको सामानबारे थप अध्ययन जारी रहेको भनसार कार्यालयले जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ति सामानहरु बरामद गरिएको भएपनि अहिलेसम्म अनुसन्धानमै रहेको बताए । हेर्दा बेवारिसे जस्तो देखिएको तर सामान बरामद गरिएको घरको धनी, उद्योग वाणिजय महासंघ लगायतका प्रतिनिधिसँग छलफल भइरहेको उनले बताए । 

पछिल्लो समय यस्ता सामानहरु नेपालबाट भारतर्फ तस्करी हुने गरेको गुनासो प्राप्त भएको बताउँदै पौडेलले बरामद गरिएका सामानमाथि पनि यही आशंकामा अनुसन्धान भइरहेको जानकारी दिए ।

seeds.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार