सोमवार, श्रावण २५ गते २०८३

पार्टी सभापति गगन थापासँग महिना दिनदेखि सम्पर्कमा छैनन् पूर्णबहादुर खड्का

खड्काले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भनेका छन्, ‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो, ढुक्क हुनुहोस् ।’

आइतवार , जेठ २४, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र सोही पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काबिचको संवादहिनता बढ्दै गएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै खड्काले पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमप्रति कडा असन्तुष्टि जनाएका छन् । 

पार्टी सभापति गगनकुमार थापासँग पछिल्लो २९ दिनदेखि आफ्नो संवाद नभएको बताउँदै खड्काले पार्टीमा एकता कायम गर्न विगत दुई महिनादेखि आफूले इमानदार प्रयत्न गरे पनि त्यसमा कुनै प्रगति हुन नसकेको गुनासो गरे । 

उपसभापति खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यहरूको नामावली अद्यावधिक गर्ने नाममा देशैभरिबाट दबाब दिने काम भइरहेको भन्दै त्यसलाई ‘घातक’ प्रवृत्तिको संज्ञा दिएका छन् ।

‘१५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अद्यावधिक नगरेको निहुँमा कसैलाई महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न सक्दैन,’ खड्काले भनेका छन्, ‘यस्तो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

पार्टीभित्र पछिल्लो समय नेताहरूको क्रियाशील सदस्यता केन्द्रले नै स्वतः अद्यावधिक गरिदिन्छ भन्ने हल्ला फैलाइएको भन्दै उनले त्यसको खण्डन गरेका छन् । यस्ता कुराहरू पार्टी पङ्क्तिमा भ्रम फैलाउनका लागि मात्रै चलाइएको अफवाह भएको उनको दाबी छ ।

खड्काले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भनेका छन्, ‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो, ढुक्क हुनुहोस् ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार