आइतवार, श्रावण २४ गते २०८३

नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास

आइतवार , जेठ २४, २०८३


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

भेटवार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल ९कनेक्टिभिटी०, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको छ ।

द्विपक्षीय भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतका जनतालाई अभिवादन गरेका थिए । उनले गत अप्रिल महिनामा मौरिससमा भएको नवौँ इन्डियन ओसियन सम्मेलनको साइडलाइनमा विदेशमन्त्री जयशंकरसँग फलदायी छलफल भएको र पुनः भेट्न पाउँदा आफूलाई खुसी लागेको बताए ।


‘द्विपक्षीय संलग्नताको महत्त्वपूर्ण अवसर प्राप्त भएकामा म खुसी छु । म यो अवसरमा आगमन भएदेखि नै तपाईं र भारत सरकारबाट प्राप्त गरिएको सौहार्दपूर्ण आतिथ्यका लागि धन्यवाद पनि व्यक्त गर्न चाहन्छु’ उनले भने । नेपालको नयाँ सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश बोकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले आफूहरूसँग नजिकको छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ संकल्प रहेको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै भारतको उच्चस्तरीय महत्त्वपूर्ण भ्रमण गरेको उल्लेख गर्दै नेपाल र भारत केवल दुई देश मात्र नभई एक गौरवशाली प्राचीन सभ्यताका साझेदार भएका बताएका थिए । ‘हामी यस सभ्यतागत सम्बन्धलाई आधुनिक विकासमुखी साझेदारीमा रूपान्तरण गर्न चाहन्छौँ’, उनले भने ।

परराष्ट्रमन्त्री खनालले नेपालले भारतसँगको सम्बन्धलाई उच्चतम् प्राथमिकता दिएको उल्लेख गर्दै नयाँ सरकार सार्थक, उद्देश्यपूर्ण र उच्चतम स्तरमा सम्बन्ध प्रगाढ बनाउन तयार रहेको बताए ।

‘भारतसँगको सम्बन्ध केवल ऐतिहासिक मात्र होइन, यो कठिन समयमा सबैभन्दा महत्त्वपूर्ण पनि रहँदै आएको छ । चाहे त्यो विपद्को समय होस् वा आजको पश्चिम एसिया सङ्कटको बेला’, परराष्ट्रमन्त्री खनालले भने, ‘इन्धन आपूर्ति होस् वा मल आपूर्ति, तपाईंहरूले सधैँ साथ दिनुभएको छ र यसको लागि म नेपाल सरकार र नेपाली जनताको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।’

एक उत्पादनशील, स्पष्ट र परिणाममुखी छलफलको अपेक्षा गर्दै यस्तो छलफलले आगामी उच्चस्तरीय भ्रमणहरूको लागि आधार तयार पार्ने र द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत गर्ने उनको भनाइ थियो ।

यसैगरी भेटवार्ताका क्रममा विदेशमन्त्री जयशंकरले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै करिब दुई महिनाअघि मौरिससमा परराष्ट्रमन्त्री खनालसँग भएको भेट र छलफलको स्मरण गरेका थिए । उनले भने, ‘हाम्रो मामिलामा, भारत र नेपालले निस्सन्देह एक अत्यन्त विशेष सम्बन्ध साझा गर्छन्, जुन जीवन्त जनस्तरका सम्बन्धहरू, सीमा–पार सम्पर्क र साझा सांस्कृतिक तथा धार्मिक परम्पराहरूको बलियो आधारमा निर्मित छ । यो सम्बन्ध आपसी विश्वास, सद्भाव र पारस्परिक लाभमा आधारित छ ।’

विदेशमन्त्री जयशंकरले द्विपक्षीय सम्बन्ध व्यापार, वाणिज्य, लगानी, ऊर्जा, विकास सहकार्य, शिक्षा, विपद् प्रतिक्रिया र संस्कृतिजस्ता क्षेत्रमा निरन्तर विकसित हुँदै आएको उल्लेख गर्दै दुई देशसँँग त्यसलाई अझ अगाडि बढाउने स्टार्टअप, कृत्रिम बौद्धिकता, सूचना प्रविधि, नवीकरणीय ऊर्जा र अन्य नयाँ क्षेत्रहरूमा पनि नयाँ अवसर भएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार