वैशाख । दुई दिन सार्वजनिक बिदाले डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको देखिएको छ ।
सरकारले इन्धन खपत कम गर्न २३ चैतदेखि लागुु हुने गरी शनिबारसँगै आइतबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।डिजेलको खपतमा कमी आए पनि पेट्रोलको खपत भने झनै बढेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार मुलुकभर ७ चैतदेखि २१ चैतसम्म पेट्रोल २८ हजार २१६ किलोलिटर खपत भएकोमा २२ चैतदेखि वैशाख ७ सम्म २९ हजार २४९ किलोलिटर खपत भएको छ । यस्तै सो अवधिमा ६९ हजार ५६७ किलोलिटर डिजेल खपत भएकोमा ७ वैशाखसम्म घटेर ५६ हजार २२७ किलोलिटर खपत भएको निगमले जनाएको छ ।
यस अनुसार १५ दिनको अवधिमा बजारमा डिजेलको खपत १३ हजार किलोलिटर घटे पनि पेट्रोलको खपत भने एक हजार किलोलिटरले बढेको निगमको तथ्याङ्कले देखाएको छ ।
निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक दुई हजार दुुई सय किलोलिटरदेखि दुई हजार पाँच सय किलोलिटर पेट्रोल र चार हजार पाँच सय किलोलिटरदेखि पाँच हजार किलोलिटर डिजेल खपत हुने गर्छ ।
दुई दिन सार्वजनिक बिदा कायम हुँदा निजी सवारीमा घुमफिरका गतिविधि बढेको हुन सक्ने निगमको भनाई छ । उपत्यकामा भने दैनिक छ सय किलोलिटरदेखि सात सय किलोलिटर पेट्रोल र ७५० किलोलिटरदेखि ८५० किलोलिटर डिजल खपत हुने गर्छ । पेट्रोलको तुुलनामा डिजेलको खपत धेरै हुने गर्छ ।
पश्चिम एसियाली मुलुकमा भएकोे युुद्धका कारण इन्धनको मूूल्य निरन्तर बढ्दै गएपछि खपत घटाउन सरकारले आइतबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । साथै इन्धनको खपत कम गर्न सरकारी कर्मचारीले पाउँदै आएको तेल सुविधामा समेत आधा कटौती गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले डिजलको मूूल्य बढ्दा ८० प्रतिशत विकासनिर्माण रोकिएको जानकारी दिए । “सुरु भएको काम सकाउनुपर्ने भएकाले सामान्य रूपमा भइरहेको छ,” उनले भने, “डिजेल र अलकत्राको मूल्य बढेकाले विकासनिर्माण देशैभर ठप्प प्रायः छ ।’’
प्रतिलिटर ९० रुपियाँ रहेको अलकत्राको मूूल्य अहिले बढेर अहिले १८० रुपियाँसम्म पुुगेको उनको भनाइ छ । महासङ्घका अनुसार भारतबाट महँगोमा अलकत्रा ल्याउनुु परेको र निर्माण सामग्री ढुवानीको लागत मूल्य बढेकाले पनि विकासनिर्माणमा प्रत्यक्ष असर परेको छ ।