काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का लामो समयपछि आफूलाई निवर्तमान सभापतिको हैसियतमा प्रस्तुत भएका छन् ।
पार्टीको विवादबारे सर्वोच्च अदालतको फैसलापछि खड्काले पहिलो पटक निवर्तमान कार्यवाहक सभापतिको हैसियतमा प्रेस वक्तव्य जारी गरेका हुन् ।
खड्काद्वारा मंगलबार जारी वक्तव्यमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध आपत्ति जनाइएको छ । वक्तव्यमा उनले विद्यार्थी संगठनलाई नेपालको गौरवशाली राजनीतिक इतिहासका मेरुदण्ड भनेर टिप्पणी गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनकै जगमा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हासिल गरेको र नेपाली जनताले उच्चतम नागरिक स्वतन्त्रता उपभोग गरिरहेको खड्काले भनेका छन् ।
लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघ–संगठन र स्ववियुको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय हुनु सरकारको अधिनायकवादी कदमका रूपमा बुझ्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
‘निर्दलीय निरंकुस पञ्चायती व्यवस्थाको अन्धकारमय कालखण्डमा जब राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो,’ खड्काको विज्ञप्तिमा भनिएको छ, ‘त्यति बेला राजनैतिक विचारका आधारमा संगठित विद्यार्थी संघ संगठनहरूले नै लोकतन्त्रको मशाललाई प्रज्वलित राख्दै जनतामा चेतना भर्ने र अधिनायकवाद विरुद्ध विद्रोहको शंखघोष गर्ने साहसिक अभियानको नेतृत्व गरेको कुरा इतिहास साक्षी छ ।’