आइतवार, श्रावण २४ गते २०८३

सभामुखको स्वकीय र निजी सचिवमा कुँवर र पाण्डे नियुक्त

मंगलवार , चैत्र २४, २०८२

काठमाडौँ । प्रतिनिधिसभाका सभामुखको सचिवालयमा रिक्त रहेका मुख्य पदहरूमा नियुक्ति प्रक्रिया सम्पन्न भएको छ।

सभामुखको सचिवालयले दिएको जानकारी अनुसार, मुना कुँवरलाई स्वकीय सचिव र नवराज पाण्डेलाई निजी सचिवको जिम्मेवारी दिइएको हो।

सभामुखको कार्यसम्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउन अनुभवी व्यक्तिहरूलाई चयन गरिएको सचिवालयले जनाएको छ ।

कुवँरलाई सभामुखको राजनीतिक समन्वय र व्यवस्थापकीय कार्यमा सहयोग पुर्‍याउने गरी स्वकीय सचिवको जिम्मेवारी तोकिएको छ ।

पाण्डेले सभामुखको दैनिक सचिवालय संचालन, कार्यतालिका व्यवस्थापन र प्रशासनिक समन्वयको भूमिका निर्वाह गर्नेछन्।

नयाँ नियुक्तिका साथै सभामुखको सचिवालयले संसद्को गरिमा र प्रभावकारिता बढाउन थप सक्रियता देखाउने अपेक्षा गरिएको छ। विशेषगरी संसद्का बैठकहरूको व्यवस्थापन र विभिन्न राजनीतिक दलहरूसँगको समन्वयमा यी नियुक्तिहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

सभामुखले आफ्नो कार्यकाललाई सफल बनाउन विश्वासिलो र दक्ष टिमको आवश्यकता महसुस गर्दै यी पदाधिकारीहरूलाई जिम्मेवारी सुम्पनुभएको स्रोतले बताएको छ। नवनियुक्त सचिवद्वयले आजैदेखि आफ्नो कार्यभार सम्हाल्दै सचिवालयको कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार