काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउतलाई २० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ ।
बैंकिङ सम्बन्धी मुद्दामा जाहेरीवालाको रकम फिर्ता गर्न सहजीकरण गरिदिन र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनको लागि उक्त रकम लिएको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । उक्त मुद्दा सहजीकरणको लागि रकम मागेर हैरानी दिएको उजुरी पिडितले आयोगमा दिएको थियो ।
रकम लिइसकेको अवस्थामा आयोगको टोलीले महानगरपालिका वडा नं. ५ गहनापोखरीबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए । राउतमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।