चितवन । पृथ्वी राजमार्गको नौविसे–मुग्लिन खण्डमा पर्ने धादिङको कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।
आइतबार परीक्षणका रूपमा यातायात सञ्चालन गरिएको यो राजमार्ग सर्वसाधरणका लागि असोज १ गतेबाट खुला गरिने सडक विभागले जनाएको छ ।
त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण कृष्णभिर क्षेत्रमा करिब एक सय मिटर सडक कटान गरेपछि सो राजमार्ग भदौ १४ गते देखि अवरूद्ध छ ।
सडक विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्र्याक निर्माण गरी सडक पुनःस्थापनाको काम अघि बढाएकाले राजमार्ग सञ्चालनको अवस्थामा पुगेको हो ।
सडक विभागले आइतबार राति विज्ञप्ति जारी गर्दै निर्माणाधीन ट्र्याकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षण गरिएकाले असोज १ गतेबाट सञ्चालनमा ल्याइने उल्लेख छ ।
उक्त राजमार्ग आइतबार परीक्षण गरिएको थियो । सोमबार (आज) परीक्षणलाई पनि निरन्तरता दिदैँ ग्यासको बुलेट लगाएतका अत्यावश्यक सवारी साधनहरूलाई सञ्चालन गर्न दिइने पृथ्वी राजमार्ग अन्तर्गत नौविसे–मुग्लिन आयोजना पश्चिमकी कार्यलय प्रमुख सिनियर डिभिजन ईन्जिनियर सजना अधिकारीले जानकारी दिए।