काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा बालुवाटारमा चियापान आयोजना गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सफल भएकोमा बधाई पनि दिइन् ।
आयोगले गरेको मेहनतको उच्च सह्राहना गर्दै प्रधानमन्त्री कार्कीले नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित भएकोमा प्रसन्नता पनि व्यक्त गरिन् । अनेकौँ चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै प्रधानमन्त्री कार्कीले प्रशंसा पनि गरिन् ।
सो अवसरमार प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचन घोषणा हुनासाथ तपाईँहरुले जुन मेहनत र प्रतिबद्धताका साथ काम गर्नुभयो, त्यसैको परिणामस्वरुप आज तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन सकेको हो । यो सफलता दिगो लोकतन्त्रका लागि पनि ऐतिहासिक र महत्त्वपूर्ण छ। यो सफलता हामी सबैको खुसी र गौरवको विषय हो ।’
आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्रीलाई हस्तान्तरण गरे । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलगायतको पनि उपस्थिति थियो ।