आइतवार, श्रावण २४ गते २०८३

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, निर्वाचनसम्बन्धी प्रतिवेदन आजै राष्ट्रपतिलाई बुझाइने

बिहिवार , चैत्र ५, २०८२

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई  आज  प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिए । 

बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको आयोगले जनाएको छ । 

समानुपातिकतर्फबाट प्रतिनिधिसभामा ११० सांसद निर्वाचित हुन्छन् । आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४–४ सांसद दिने निर्क्यौल गरिसकेको छ । 

बिहान प्रमाणपत्र वितरण गरेपछि दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको आयोगले जनाएको छ ।
 अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको छ । 

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार