काठमाडौं। नेपाली कांग्रेको १४ औं महाधिवेशन शुरु भइसकेको छ।
यहि १८ गतेबाट तल्लो तह ‘वडा अधिवेशन’ शुरु भएसंगै कांग्रेसको केन्द्रमा पनि त्यसको सरगर्मी बढेको छ। कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ तोकिएको छ। त्यसका लागि नेताहरुले आ–आफ्नो उम्मेद्वारी घोषणा गरिहरेका छन्।
केहिले तयारी गरिरहेको भएपनि घोषणा गरिसकेका छैनन्। सभापतिमा उपसभापति विमलेन्द्र निधी, गोपालमान श्रेष्ठले उम्मेद्वारी घोषणा गरिसकेका छन्। महामन्त्रीमा गगन थापाले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन्।
महामन्त्रीमा कांग्रेस प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्माले पनि उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका छन्। अब नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा थापा र शर्मा आमनेसामने हुने भएका छन्। थापा वरिष्ठ नेता रामचन्द्र पोडेल समूहमा खुलिसकेका छन्। यसअघि उनी १३ औं महाधिवेशनमा कृष्ण सिटौला समूहबाट महामन्त्रीमै उम्मेद्वार बनेका थिए।
तर उनी शसांक कोइरालासंग पराजित भए। प्रवक्ता शर्मा देउवा पक्षबाट महामन्त्रीमा लड्ने दाबेदारमध्ये एक हुन्। देउवाले महामन्त्रीमा प्रवक्ता शर्मालाई उभ्याउन सक्ने आँकलन भइरहेका छन्। शर्माले औपचारिक घोषणा भने गरिसकेका छैनन्। उनले आफू प्रवक्ताबाट रिटायर्ड हुन नआएको भन्दै चाँडै नै चुनावी मैदानमा देखा पर्ने बताएका छन्।
शर्माले सम्भवत बिपी जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्ने तयारी गरेको बताइएको छ। महामन्त्रीमा कुनै समूहबाट नपरे पनि एक्लै भए पनि लड्ने बताएका थापा र देउवा समूहबाट प्रवक्ता शर्मा आमनेसामने हुनेछन्।