काठमाडौं। नेपालमा ६० वर्ष उमेर कटेकाहरुको जनसंख्या ८.५ प्रतिशत मात्र छ। यिनै बृद्ध 'बा' हरूले ९१.५% नेपाली जनतामाथि एकछत्र शोषण, दोहन र शासन गरिरहेका छन्।
युवा र बालबालिकाको भविष्य अन्धकारतिर हुत्याउदैछन्। यी बृद्धहरूको डफ्फालाई अबिलम्ब बृद्धाश्रममा पठाएर यस्ता आधुनिक बिज्ञान प्रविधि र समयप्रतिकूलका बिकासअमैत्री नेतृत्वको परिस्थित उल्टाउन ढिला भइसकेको छ।
अब युवाहरूले स-सम्मान बृद्ध नेताहरूको बहिर्गमन गराउन, धाईआमाको भूमिका निभाउनु समयको माग र खाँचो हो। नेपालमा युवा वर्ग जनसंख्या अत्यधिक छ। १५ वर्षदेखि ४० वर्षसम्मका ४४% छन्। १ वर्षदेखि १५ वर्षसम्मका ३०% छन्।
यसरी ०–४० वर्ष उमेरका ७४% त युवाहरू नै छन्। तर यी युवाहरूको शिक्षा संस्कार र स्कूलिङ पशुभन्दा गएगुज्रेको बनाएर आर्यघाट नपुग्दा सम्म मेरै शासन एकछत्र चलोस् भन्ने कुत्सित लक्ष्यमा बूढा नेताहरू लागिरहेर मुलुक डुबे पनि ती सफल बनेका छन्। यस्तो परिस्थिति जारी रहिरहनु युवाहरूको बेइज्जति र अकर्मण्यता हो। जन्म हुन बॉकी पुस्ताहरूको भ्रूणहत्या हो।
हिन्दू सनातन संस्कृतिमा बृद्धहरूप्रति मानसम्मानको कहिल्यै कुनै कमी गरिदैन, हुनुहुदैन। बुढाबुढीलाई राति राम्ररी निद्रा लागोस् भनेर दिनदिनै सुत्ने बेलामा तिनका गोडा तेल मालिस गर्ने, बिहान उठेर ढोग्ने गरिरहनुपर्छ।
तर सन्तान २४ वर्ष कटिसकेपछि गृहस्थी, राजकाज, घरबार आफैले चलाउनु पर्छ। बृद्ध नेताहरूको कॉधमा मुलुकको भारी बोकाउनु पाप हो, त्यसरी बोकाउनु हुदैन, त्यसो गरे यो जुनिमा तरिन्न।
ती नेताहरूलाई तीर्थ गराउन लैजाने जिम्मेवारी पनि तिनकै सन्तानको हो, तिनले नगरे वा गर्न नसके समाजका अरू बयष्कहरूले दानपुण्य गरेर भए पनि बृद्धहरूलाई तीर्थ गर्ने सुब्यवस्था मिलाइदिनु पर्छ।
राम्रो सुबिधासम्पन्न आश्रममा पठाएर बृद्ध नेताहरूको बॉकी जीवन निश्चिन्त, षड्यन्त्रमा नफँसी, परमात्मामा समर्पण गर्दै आनन्द र खुसीसाथ जिउने भौतिक, मानसिक एवं आध्यात्मिक पूर्वाधार र ब्यवस्था मिलाईदिने कर्तब्य तिनका बयष्क सन्तानहरूको हो। समाजको हो। युवाहरू तपाईँमा रोगी अशक्त थिलथिलो शरीरका बुढाबुढी प्रति कुनै दयामाया, मानसम्मान छैन र ?
तिनका बुढा कॉधमा भारी बोकाएर आफू सुकुल गुण्डे जीवनमा नै यसरी परजीबी बन्दै रमाइरहने कि परिस्थितिलाई आफ्नो हातमा लिएर आफ्नो सन्तानका लागि सोच्ने कि ? हजुरबाआमाले तपाईँका मोजमस्तिबाट जन्मेका छोराछोरी पालिदेओस् भनेर बसिरहने? कति घुर्दै यति निदाउन सकेको ? जाग्नुस् न जाग्नुस्।
उपाध्याय नेपाल सरकारका पुर्व सचिव हुन्।