काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन्। यद्यपीस संसद् सचिवालयले सो को कार्यसूची भने सार्वजनिक गरिसकेको छैन।
देउवालाई सदनमा विश्वासको मत दिलाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले दौडधूप निकै बढाएका छन्। उनले हिजो नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए।
एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि देउवाले आजै विश्वासको मत लिन लागेको भन्दै व्यंग्यात्मक ट्वीट गरेका छन्। संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्ति पाएको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
सोही व्यवस्था बमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका उनीनिकट व्यक्तिहरूले जानकारी दिएका छन्। पुन:स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज अपरान्ह चार बजे बस्दै छ। प्रधानमन्त्री देउवाले विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक पर्छ।
कांग्रेसका ६१ जनाले मत दिन पाउने
त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन्। कांग्रेसका दुईजना सांसद निलम्बित अवस्थामा छन्। विजयकुमार गच्छदार र मोहम्मद अफ्ताव आलमले मत दिन पाउने छैनन्। तर, कायम संख्यामा भने उनीहरूको गणना हुनेछ।
माओवादीका ४९ सांसद
नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चारजना बर्खास्त भएका छन्।
उनीहरू अहिले सांसद पदमा छैनन्। नेकपा (एमाले)मै रहेकाले माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो।
स्वतन्त्र रूपमा जितेका एक सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउनेछन्।
जसपाका २० जना सांसद
जनता समाजवादी पार्टीमा जम्मा ३२ सांसद रहेका छन्। ३४ मध्ये दुईजना निलम्बित छन्। रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन्। त्यसैले ३२ मध्ये अधिकांश सदस्य डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षमा रहेको जनाइएको छ। यसअघि शनिबार बसेको सो समूहको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो समूहका पाँच सांसद उपस्थित भएका थिए।
एमालेको नेपाल समूह
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका २३ सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा मतदान गर्नुपर्ने निष्कर्ष निकालेका छन्। सो समूहले मतदान नगरे देउवाले विश्वासको मत प्राप्त गर्ने छैनन्।
प्रतिनिधि सभामा एमालेका तर्फबाट १२१ सांसद् छन्। संसदमा तत्काल कायम संख्या २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ। त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन्।
तीन पार्टीबाट १३१ ले विश्वासको मत दिने निश्चित
तीन पार्टीबाट गरी देउवालाई १३१ जनाले विश्वासको मत दिने निश्चित भएको छ।
उनलाई संसदबाट विश्वासको मत लिन थप ५ जना सांसद आवश्यक पर्छ। त्यसका लागि उनलाई एमालेको माधव नेपाल समूह वा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदको मत आवश्यक पर्छ।
देउवाले विश्वासको मत नपाए संसद विघटन हुन्छ र मुलुकमा चुनाव घोषणा हुनेछ।