बाजुरा। बाजुराका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन। सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिए पनि जिल्लाका केही बस्तीका नागरिक सडक सुविधाबाट वञ्चित छन्।
सडक नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन र कृषि उत्पादन बजारसम्म लैजान समस्या हुने गरेको छ। सामान्य कामका लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ।
देशमा सङ्घीयता आएर गाउँगाउँमा सिंहदरबार पुगे पनि बाजुराका चारवटा वडा अझै सडक सञ्जालबाहिर छन्।
जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकासहित नौ स्थानीय तहमध्ये क्षेत्रफलका हिसाबले हिमाली गाउँपालिका सबैभन्दा ठूलो हो।
जिल्लाको कुल क्षेत्रफल दुई हजार १८८ वर्ग किलोमिटरमध्ये हिमाली गाउँपालिकाले मात्रै ८३० वर्ग किलोमिटर ओगटेको छ। भौगोलिक विकटताका कारण यहाँ अन्य पालिकाको तुलनामा विकास निर्माणका काम गर्न कठिन छ।
हिमाली गाउँपालिकाका वडा नम्बर २ र ३ मा अझै सडक पुगेको छैन। ती वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र धुलाचौर पुग्न दुईदेखि तीन दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर रोकायाले बताए। उनका अनुसार एउटा गाउँबाट अर्को गाउँ पुग्नै एक दिनभन्दा बढी समय लाग्छ। खाद्यान्नलगायत सामग्री मानिस वा खच्चडमार्फत ढुवानी गर्नुपर्छ।
“सञ्चार र सडकबाट पूर्ण रूपमा वञ्चित छौँ, अरू विकास त टाढाको विषय हो,” हिमाली–३ का वडाध्यक्ष मङ्गलबहादुर बुढाले भने, “सडक नहुँदा जहाँ पुग्न पनि हिँड्नुपर्छ, मान्छे होस् या बिरामी, पिठ्युँमै बोक्नुपर्छ।”
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले आफ्नो पहिलो कार्यकालमा पालिकाका कुनै पनि वडामा सडक नपुगेको बताए। सीमित स्रोतसाधन, भौगोलिक विकटता र सङ्घ तथा प्रदेश सरकारबाट पर्याप्त बजेट नआउँदा विकास निर्माणका काम गर्न समस्या भइरहेको उनको भनाइ छ।
“अघिल्लो कार्यकालमा कतै पनि सडक पुगेको थिएन। भौगोलिक रूपमा विकट छ, हाम्रो स्रोतले भ्याउँदैन,” उनले भने, “सङ्घ र प्रदेश सरकारबाट सडक निर्माणका लागि ठूलो बजेट नआउँदा अहिलेसम्म दुई वडामा सडक जोड्न सकिएन।”
अध्यक्ष मल्लका अनुसार साविकको बिच्छ्या क्षेत्रअन्तर्गत पर्ने वडा नम्बर १ मा भर्खरै सडक पुगेको छ भने वडा नम्बर २ र ३ मा पनि यसै वर्ष सडक पुर्याउने लक्ष्य राखिएको छ। वडा नम्बर २ का लागि एक करोड ५० लाख रुपैयाँ र वडा नम्बर ३ का लागि एक करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए। उनका अनुसार अब छिट्टै ठेक्का प्रक्रिया अघि बढाएर निर्माण सुरु गरिनेछ।