बुधवार, कार्तिक ५ गते २०८३

अवरुद्ध खाँदबारी–किमाथांका सडक पुनः सञ्चालनमा

मंगलवार , कार्तिक ४, २०८३

संखुवासभा । खाँदबारी–किमाथांका सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो ।  

गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला–ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारीसाधन आवतजावत गर्न अवरुद्ध भएको थियो । 

किमाथांकाबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दुरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण ९कोसी० राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो ।  

सोही आग्रहअनुसार नेपाली सेनाको नं। १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली संलग्न भएको आयोजनाले जनाएको छ । श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विस्फोटक ९ब्लास्टिङ० मार्फत् ठूला–ठूला विशाल चट्टानहरूलाई ससाना टुक्रामा विभाजन गरेको थियो । आयोजनाले उक्त चट्टानहरू हटाएर सडक पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार, पहिरोमा खसेका ठूला चट्टान हटाउन सामान्य उपकरणले सम्भव नभएपछि विस्फोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने परेको थियो । नेपाल–चीन व्यापारीक सम्पर्कका प्रमुख नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण आवागमन र पारवहन प्रभावित भइरहेका छन् ।

यस्तो अवस्थामा  किमाथांका सडकखण्डमा यातायात सेवा पुनःसञ्चालन हुँदा थप सहज हुने अपेक्षा गरिएको छ । साथै, उत्तरी सीमासम्मको पहुँचको महत्त्वलाई थप उजागर गरेको छ ।

आयोजना प्रमुख गुरुङले भने, “भोटखोला–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन  थियो । चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो ।”   

सडक अवरुद्ध हुँदा दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीय जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो । सडक आयोजना कार्यालयले अन्य सडक खण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको जनाएको छ । रासस

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार