काठमाडौं ।सशस्त्र प्रहरी बलमा एकैपटक एक हजार २९६ जवान थपिएका छन् ।
करिब ११ महिनाको आधारभूत तालिम पूरा गरेका उनीहरू बिहीबार दीक्षित भएसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन, दङ्गा नियन्त्रण र शान्ति स्थापनालगायतका जिम्मेवारीमा खटिन योग्य भएका छन् ।
दीक्षित जवानहरूलाई सीमा सुरक्षा, विपद् व्यवस्थापन, दङ्गाा नियन्त्रण, शान्ति स्थापना तथा राजस्व र औद्योगिक सुरक्षालगायतका क्षेत्रमा परिचालन गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार तालिमका क्रममा दिक्षितहरूले फौजी ज्ञान, सुरक्षा सीप र व्यावसायिक दक्षता हासिल गरेका छन ।
थापाले दीक्षितमध्ये संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालय, ककनीबाट सबैभन्दा बढी २३३ जना रहेको बताउँनुभयो । त्यसैगरी सीमा सुरक्षा तालिम शिक्षालय, बर्दघाटबाट १२५, मातातीर्थबाट १२३, पाथिभरा जवान तालिम शिक्षालय, झापाबाट ११७ र दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीबाट ११६ जना दीक्षित भएका छन् ।
त्यसैगरी, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय, पोखराबाट ११५, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौबस्ता, बाँकेबाट ११६, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय, टीकापुरबाट ११३, विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट ११९ र बडिमालिका जवान तालिम शिक्षालय, वनभेहडाबाट ११९ जना दीक्षित भएका छन् ।
तालिमले जवानहरूमा अनुशासन, कर्तव्यनिष्ठा, मानवीय संवेदनशीलता र सांगठनिक जिम्मेवारीबोध विकास गरेको सशस्त्र प्रहरीले जनाएको छ । दीक्षित जवानलाई कार्यक्षेत्रमा उच्च व्यावसायिक मर्यादा, नैतिक आचरण र जवाफदेहितासहित राष्ट्र तथा नागरिकको सेवामा खटिने अपेक्षा गरिएको छ । सशस्त्र प्रहरीले दीक्षान्त कवाज मितव्ययी र व्यवस्थित रूपमा सम्पन्न गरिएको जनाएको छ ।