काठमाडौँ, असोज २९ गते राष्ट्रिय अनुसन्धान विभागका पूर्व कर्मचारीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि चार लाख २८ हजार पाँच सय रुपियाँ सहयोग गरेका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग पूर्व कर्मचारी संघ परिवारले सङ्कलन गरेको उक्त रकमको चेक बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई हस्तान्तरण गरेको संघका कार्यवाहक अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पूर्वकर्मचारीबाट रकम सङ्कलन गरिएको हो ।
विभागीय प्रमुख टेकेन्द्र कार्कीको सहभागितामा संघका कार्यवाहक अध्यक्ष शर्मासहित उपाध्यक्षद्वय यादवप्रसाद रेग्मी, वसन्तकुमार राई र ९५ वर्षीय पूर्व उपप्रमुख अधिकृत चन्द्रध्वज गुरुङ सम्मिलित प्रतिनिधिमण्डलले मुख्यसचिव कार्कीलाई चेक हस्तान्तरण गरेको हो ।
कार्यवाहक अध्यक्ष शर्माले विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै पूर्वकर्मचारीले आफ्नो तर्फबाट राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्याउन रकम सङ्कलन गरेको बताउनुभयो ।
रकम हस्तान्तरणका लागि सहजीकरण गरिदिएकोमा विभागीय प्रमुख कार्की र व्यस्तताका बाबजुद समय उपलब्ध गराएकोमा मुख्यसचिव कार्कीप्रति संघ परिवारले आभार व्यक्त गरेको छ ।