शनिवार, आश्विन २४ गते २०८३

पोखरा स्कुल बस दुर्घटना: मन्त्रालयद्वारा छानबिन समिति गठन

शुक्रवार , आश्विन २३, २०८३

 

२३ असोज, काठमाडौं। पोखरा महानगरपालिका–२८ मा भएको स्कुल बस दुर्घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यसको छानबिनको लागि समिति पनि बनाएको जनाएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "पोखरा-२८ मा भएको स्कुल बस दुर्घटनाप्रति मन्त्रालय गहिरो रूपमा मर्माहत भएको छ। घटनाको सत्यतथ्य बुझ्न र आगामी दिनमा यस्ता घटना हुन नदिन शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।"

विज्ञप्तिमा दुर्घटनामा परी घाइते भएका विद्यार्थी तथा अन्य नागरिकहरूको निःशुल्क र प्रभावकारी उपचारको सम्पूर्ण व्यवस्था मिलाइएको पनि उल्लेख छ। घाइतेहरूको उपचारमा कुनै पनि किसिमको कमी हुन नदिन मन्त्रालयले स्थानीय प्रशासन र सम्बन्धित अस्पतालहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन शैक्षिक संस्थाहरूका यातायात साधन र चालकहरूको नियमित अनुगमन तथा प्राविधिक परीक्षणलाई अनिवार्य बनाउने गरी मन्त्रालयले नयाँ मापदण्ड निर्माणको कामसमेत सुरु गरिसकेको बताइएको छ। यसको लागि मन्त्रालयले अध्ययनको काम थालिसकेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको हो।

घटनाप्रति दुःख व्यक्त गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि बालबालिकाको सुरक्षाभन्दा ठूलो अरू केही नहुने बताउनुभएको छ।

मन्त्री पोखरेलले बताउनुभएको छ, "पोखरामा भएको स्कुल बस दुर्घटनाको खबरले म स्तब्ध र मर्माहत छु। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ भने घटनाको सत्यतथ्य बुझ्न कास्की इकाइ प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। यस्ता दुर्घटना फेरि दोहोरिन नदिन स्कुल बस र चालकहरूको नियमित अनुगमनसम्बन्धी कडा मापदण्ड बनाउने काम मन्त्रालयले थालिसकेको छ।"

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार