बिहिवार, आश्विन २२ गते २०८३

त्रिभुवन विश्वविद्यालय सभाको बैठक भोलि

बुधवार , आश्विन २१, २०८३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आउँदो असोज २२ गते बिहीबार बिहान ९:०० बजेदेखि बस्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा आयोजना हुने सो बैठकको सञ्चालन त्रिविका शिक्षाध्यक्ष एवं सभाका सदस्य-सचिव प्रा.डा.अन्जना महर्जन सिंहले गर्नेछन् । 

बैठकमा उपकुलपति प्रा.डा. भोला थापाले स्वागत मन्तव्य राख्नेछन् भने सहकुलपति एवं मन्त्री पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।  

​बैठकमा मुख्य रूपमा त्रिविको आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत र स्वीकृत गर्ने मुख्य एजेन्डा रहेको छ। रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले उक्त नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नेछन्। यसका साथै त्रिविका नियम, विनियम, कार्यविधि, कार्यव्यवस्थापन प्रणाली तथा निर्देशिका अनुमोदन सम्बन्धी प्रस्तावहरू पनि बैठकसमक्ष पेस गरिनेछन्। 

साथै, त्रिवि कार्यकारी परिषद्को सदस्यमा भएको मनोनयन समर्थन र पुनरावेदन आयोगको अध्यक्ष तथा सदस्य मनोनयन सम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल गरी निर्णय गरिनेछ।  

​यसैगरी, वार्षिक दिवस बैठकअन्तर्गत त्रि.वि.अन्तर्गतका विभिन्न अध्ययन संस्थान र सङ्कायका डीनहरूले सिफारिस गरेबमोजिमका विद्यार्थीहरूलाई उपाधि प्रदान गर्ने र ६४ औँ ग्रेस लिस्ट स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ। बैठकको अन्त्यमा शिक्षाध्यक्ष प्रा.डा. अन्जना महर्जन सिंहले कृतज्ञता ज्ञापन गर्नेछिन् भने सहकुलपति एवं मन्त्री पोखरेलको मन्तव्यसहित सभा विसर्जन गर्नेछन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार