काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी ड्रोन आक्रमणका कारण ब्ल्याक सागरस्थित रोमानियाली जलक्षेत्रमा मालवाहक पानीजहाज डुबेको आरोप लगाएका छन् ।
रोमानियाको आन्तरिक मामिला मन्त्रालयका अनुसार सोमबार आफ्नो विशेष आर्थिक क्षेत्रमा मकै बोकेको मालवाहक जहाजमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । ११ जनाको उद्धार गरिएको छ । जहाजमा अजरबैजानी र भारतीय नागरिक सवार थिए । आगलागीको आधिकारिक कारण भने खुलाइएको छैन ।
जेलेन्स्कीले टर्कीको स्वामित्वमा रहेको उक्त सिभिलिएन जहाजमाथि दुईवटा रुसी ड्रोनले आक्रमण गरेको दाबी गरेका छन् । तर, रोमानियाली अधिकारीहरूले तत्काल रुसी आक्रमणको पुष्टि गरेका छैनन् ।
रुस–युक्रेन युद्धका क्रममा रोमानियासहित नेटोका पूर्वी सदस्य राष्ट्रहरूमा ड्रोन तथा हवाई क्षेत्र उल्लंघनका घटना बढिरहेका छन् । यसअघि रोमानियामा रुसी ड्रोनबाट भवनमा क्षति पुगेको तथा युक्रेनी समुद्री ड्रोन कोन्स्टान्टा बन्दरगाहमा विस्फोट भएको घटना सार्वजनिक भएका थिए ।
सेप्टेम्बरमा रुसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप पोल्यान्डले लगाएपछि उसले वायु रक्षा क्षमता सुदृढ बनाएको थियो ।
मोल्डोभामा पनि दुईपटक शंकास्पद ड्रोन खसालिएका थिए । यस्ता घटनाले रुस–युक्रेन युद्ध नेटोको भूभागतर्फ फैलिन सक्ने चिन्ता बढाएको छ ।