शुक्रवार, आश्विन १६ गते २०८३

नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित

बिहिवार , आश्विन १५, २०८३

काठमाडौं । नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) माथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० असारमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।

निलम्बनपछि नेपालले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ । त्यसक्रममा ३३ वर्षको साफ इतिहासमा पहिलोपटक नेपाल सहभागी नहुने निश्चित भएको हो ।


दक्षिण एसियाली फुटबल महासंघले यसअघि ३० सेप्टेबरसम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसीमामा निलम्बन फुकुवा नभएसँगै नेपालले साफ गुमाउन लागेको हो ।

योसँगै यसपटक साफमा ६ देश सहभागी हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् । समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छ । निलम्बन खुलेको अवस्थामा नेपालले समूह ‘ए’बाट खेल्न पाउँथ्यो ।

नेपालले साफको यसअघिका १४ संस्करण सबैमा सहभागिता जनाएको थियो । जसमा नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो बनेको छ । त्यसबाहेक पनि ५ पटक सेमिफाइनल पुगेको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार