काठमाडौं . सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिकालाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक, वस्तुनिष्ठ र विधिसम्मत आधारमा गरिएको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै उहाँले लोककल्याणकारी विज्ञापनको दर निर्धारण गर्दा विद्यमान दररेट, पत्रपत्रिकाको वर्गीकरण, विज्ञापन प्रकाशनको संख्या तथा महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनलाई आधार बनाइएको बताउनुभयो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाका अनुसार पत्रपत्रिकामा लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत हाल कायम रहेको राष्ट्रियस्तरको ‘क’ वर्गको मासिक रु ३५ हजार २०० दरलाई आधार दरका रूपमा लिइएको छ ।
यसअघि कायम रहेको रु ३५ हजार २१९ को दरलाई रु ३५ हजार २०० कायम गरी अनुपातमा रहेको असमानतालाई सच्याउँदै २० प्रतिशतको अनुपात कायम गरिएको उहाँले सदनलाई जानकारी दिनुभयो ।
उहाँले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड, २०६६ (परिमार्जित–२०७९) को दफा ४१ मा रहेको समकक्षता निर्धारणसम्बन्धी व्यवस्थासमेत कार्यान्वयन गरिएको बताउनुभयो ।
सो व्यवस्थाअनुसार राष्ट्रिय, प्रदेश र स्थानीयस्तरका पत्रपत्रिकालाई सम्बन्धित वर्गका आधारमा समकक्षता कायम गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
त्यस्तै, महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८२÷८३ को लेखापरीक्षण प्रतिवेदनको दफा १०.३ मा पत्रपत्रिकाको वर्गीकरण प्रेस काउन्सिल नेपालको वर्गीकरणअनुसार संघ (राष्ट्रिय), प्रदेश तथा स्थानीय ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा गरिएको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले विज्ञापनबापतको रकम भुक्तानी पनि सोही वर्गीकरणअनुसार गर्नुपर्ने सुझाव कार्यान्वयन गरिएको बताउनुभयो ।
महालेखापरीक्षकको कार्यालयले आफ्नै प्रतिवेदनमा यसअघि सैद्धान्तिक बेरुजुका रुपमा देखाएकोमा त्यसलाई सम्परीक्षण नगरे आगामी वर्षहरुमा त्यस्तो बेरुजु गणतीय रुपमा देखिने स्पष्ट पार्नुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाका अनुसार लोककल्याणकारी विज्ञापन प्रकाशनको संख्यालाई पनि दर निर्धारणको आधार बनाइएको छ ।
हालको व्यवस्थाअनुसार दैनिक पत्रिकाले १० वटा, अर्धसाप्ताहिकले सातवटा, साप्ताहिकले चारवटा र मासिक पत्रिकाले एउटा लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने व्यवस्थालाई आधार मानी मासिक दररेट कायम गरिएको छ ।
त्यस्तै, कार्यविधिमा रहेको पाक्षिक, मासिक र द्वैमासिक प्रकाशनलाई एउटै आधार मानी फरक–फरक मासिक दररेट कायम गर्ने व्यवस्थालाई पनि दर निर्धारणमा समेटिएको उहाँले जानकारी दिनुभयो ।
लोककल्याणकारी विज्ञापनको रकमलाई विधिसम्मत बनाउने क्रममा केही पत्रिकाको रकम घटेको र केहीको बढेको हुनसक्ने उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यो प्रक्रिया कुनै निश्चित पत्रिकालाई लक्षित गरेर नभई प्रचलित कानुन, वर्गीकरण र लेखापरीक्षणबाट औँल्याइएका विषयलाई सम्बोधन गर्ने उद्देश्यले अघि बढाइएको बताउनुभयो ।
लोककल्याणकारी विज्ञापनको रकमलाई विधिसम्मत बनाउँदा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सूचनाको हक लगायतका संवैधानिक अधिकार खुम्चिने भन्ने तर्कमा कुनै सत्यता नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
लोककल्याणकारी विज्ञापनको दरसम्बन्धी नयाँ व्यवस्थाप्रति नेपाल पत्रकार महासंघलगायतका संस्थाले विरोध जनाउँदै आएका छन् ।
सोही विषयमा प्रतिनिधिसभामा समेत प्रश्न उठेपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले दर निर्धारणका आधार र प्रक्रियाबारे स्पष्ट पार्नुभएको हो ।