सोमवार, आश्विन १२ गते २०८३

जलविद्युत् आयोजनाको जोखिम न्यूनीकरणमा विज्ञ अर्नोल्डसहित ८५ इन्जिनियरबीच छलफल

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ । नेपालमा जलविद्युत् आयोजनाको सुरक्षा र जोखिम न्यूनीकरणका विषयमा नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीका करिब ८५ इन्जिनियरबीच छलफल भएको छ।

सुरुङ उद्धार विज्ञ अर्नोल्ड डिक्सको पहलमा भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम व्यवस्थापन विभागमा आयोजना गरिएको छलफलमा विद्यमान तथा निर्माणाधीन जलविद्युत् आयोजनामा तत्काल अपनाउनुपर्ने जोखिम न्यूनीकरणका उपाय र दीर्घकालीन रणनीतिबारे छलफल गरिएको हो।

हालै नेपालले भोगेको विपद्बाट पाठ सिक्दै जलविद्युत् पूर्वाधारलाई थप सुरक्षित र विपद् प्रतिरोधी बनाउने विषयमा इन्जिनियर, वैज्ञानिक तथा प्राविधिक विज्ञबीच अनुभव आदानप्रदान गरिएको अर्नोल्डले बताएका छन्।

उनका अनुसार छलफलमा ‘अहिले के गर्न सकिन्छ, के सिक्न सकिन्छ र इन्जिनियरिङमार्फत जलविद्युत् पूर्वाधारलाई कसरी थप सुरक्षित बनाउन सकिन्छ’ भन्ने विषयलाई प्राथमिकता दिइएको थियो।

यो छलफल प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच संयुक्त राष्ट्रसंघको महासभाका क्रममा नेपाल–अस्ट्रेलिया सहकार्य विस्तारबारे छलफल भइरहेका बेला नेपालमै प्राविधिक तहमा सहकार्यको अभ्यासका रूपमा भएको अर्नोल्डले उल्लेख गरेका छन्। अर्नोल्ड अष्ट्रेलियाली नागरिक हुन्। भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाभित्र फसेका व्यक्तिको उद्धारमासमेत उनी सक्रिय थिए।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार