काठमाडौँ । अहिले विकसित भइरहेको असाधारण रूपमा शक्तिशाली ‘सुपर एल निनो’ का कारण आगामी ६ महिनामा विश्वभर चार लाख ५१ हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जलवायु वैज्ञानिकहरूको अनुमान छ।
क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताहरूले गरेको प्रक्षेपण अनुसार सन् २०२६ सेप्टेम्बरदेखि २०२७ फेब्रुअरीसम्म एल निनोका कारण बढ्ने तापक्रमले हुने अतिरिक्त मृत्युको संख्या चार लाख ५१ हजार पुग्न सक्छ।
यो संख्या जलवायु परिवर्तनका कारण यसअघि नै बढेको तापक्रमबाट हुने मृत्युभन्दा अतिरिक्त हो।
अनुसन्धानकर्ताहरूका अनुसार यसको प्रभाव इन्डोनेसिया, भारत र नाइजेरियादेखि अमेरिकासम्म देखिनेछ। गर्मीका कारण हुने मृत्युसँगै एल निनोले निम्त्याउने खडेरी, डढेलो र बाढीबाट हुने थप मानवीय क्षति पनि हुन सक्छ।
आगामी छ महिनामा सबैभन्दा बढी प्रभावित हुने देशमा नाइजेरिया, इन्डोनेसिया, सुडान, भारत र ब्राजिल हुनेछन् भनेर द गार्डियनले लेखेको छ।
अमेरिका पनि बढी प्रभावित हुने २० देशभित्र पर्ने र त्यहाँ करिब ३,५०० अतिरिक्त गर्मीजन्य मृत्यु हुन सक्ने अनुमान छ। अफ्रिकाको साहेल क्षेत्र र दक्षिणपूर्वी एसिया पनि बढी जोखिममा छन्।
अनुसन्धानकर्ताहरूले २४ हजार ३७८ क्षेत्रको महिनैपिच्छे तापक्रम र अतिरिक्त मृत्युबीचको सम्बन्ध अध्ययन गरी आगामी महिनामा एल निनोका कारण बढ्ने तापक्रमको प्रक्षेपणसँग तुलना गरेका हुन्। त्यसका लागि सन् १९९६ देखि २०२५ सम्मको औसत मासिक गर्मीजन्य मृत्युलाई आधार बनाइएको थियो।
अनुसन्धानको अनुमान अनुसार गर्मीका कारण हुने अतिरिक्त मृत्युको संख्या २०२७ को जुन वा जुलाईसम्म उच्च रहन सक्छ। यद्यपि हालको तापक्रम प्रक्षेपण भने फेब्रुअरीसम्म मात्र उपलब्ध छ।
वैज्ञानिकहरूले तत्काल पूर्वतयारी गरे धेरै मानिसको ज्यान जोगाउन सकिने बताएका छन्। त्यसका लागि गर्मीको पूर्वसूचना प्रणाली बलियो बनाउने, मानिसलाई अत्याधिक गर्मीबाट जोगिन सक्ने ‘कुलिङ सेन्टर’ स्थापना गर्ने, अत्याधिक गर्मीका बेला स्वास्थ्य संस्थामा थप जनशक्ति परिचालन गर्ने तथा बाहिरी क्षेत्रमा काम गर्ने श्रमिकलाई सुरक्षा प्रदान गर्ने उपाय सुझाइएको छ।
क्यालिफोर्निया विश्वविद्यालय, बर्क्लीकी अनुसन्धानकर्ता तम्मा कार्लटनले अहिलेको आपत्कालीन तयारीले यस वर्ष धेरैको ज्यान जोगाउन सक्ने बताएकी छन्। तर भविष्यमा अहिलेको चरम तापक्रम नै सामान्य बन्न सक्ने भएकाले दीर्घकालीन अनुकूलनका उपाय तत्काल विकास गर्नुपर्ने उनको भनाइ छ।