काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।
शनिबार साँझ ६ बजेको अपडेट अनुसार खोज तथा उद्धारको अवस्था निम्न रहेको छ।
*खोज तथा उद्धार अपडेट*
मिति: २०८३ आश्विन ०३ गते, १८०० बजे
*१. हवाई खोज तथा उद्धार कार्य*
• नेपाली सेनाको हवाई साधनमार्फत विभिन्न प्रभावित इलाकाहरूबाट हालसम्म जम्मा ४,१९५ (स्वदेशी-३,९१२ र विदेशी-२८३) जनाको उद्धार गरिएको।
*२. टनेलमा खोज तथा उद्धार कार्य*
• माथिल्लो त्रिशूली-१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीद्वारा खोजी कार्य गर्ने क्रममा अडिट-३ टनेलभित्र आज १२३० बजेको अपडेटमा उल्लेख भए अनुसार उद्धार गरिएका ११ वटा शव नेपाली सेनाको हेलिकप्टरमार्फत त्रीशूली ल्याइएको। थप खोजी कार्य जारी रहेको।
• त्रिशूली-3A को टनेल र पावर हाउस इलाकामा आयोजनाका प्रतिनिधिहरुको संयुक्त टोलीले खोजी कार्य गरिरहेको।
• त्रिशूली-3B मा नेपाली सेना सहितको संयुक्त टोलीले 3X Excavator र Loader को प्रयोग गरी पावर हाउस भएको स्थानमा उत्खनन गर्दा केही फेला नपरेको। खोजी कार्य जारी रहेको।
• लाङ्गटाङ्ग जलविद्युत आयोजनामा खोजी कार्य गरिएको। केही फेला नपरेको।
• चिलिमे जलविद्युत आयोजनामा खोजी कार्य गरिएको। केही फेला नपरेको।
*३. जमिनी खोज तथा उद्धार र राहत*
• प्रभावित क्षेत्र रसुवा र नुवाकोट जिल्लाका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, कालिकास्थान, मान्चेत लगायतका विभिन्न स्थानहरूमा वेश स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको।
• साँघुरा टनेलहरूको रेकी, प्रभावित इलाकामा खोज, मूल्याङ्कन, र दुर्गम तथा सडक सम्पर्कबाट विच्छेद भएका स्थानहरूमा ड्रोनको प्रयोग गरी राहत सामाग्री ढुवानी गर्ने कार्य भइरहेको।
• रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ७ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।
*४. स्वास्थ्य सेवा तथा सडक निर्माण*
• नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट हालसम्म जम्मा ३,९९६ जनाले उक्त सेवा प्राप्त गरेका छन्।
• बाढीका कारण भासिई अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्ला रोराङ गा.पा.-३ स्थित शीतल बजारको सडकको बाटो खुलाउने कार्य भइरहेको।