काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२।०८३ मा ४० हजार आठ सय ४२ वटा उजुरी कायम भएका छन् ।
आयोगको आर्थिक वर्ष ०८२।०८३ को छत्तिसौं वार्षिक प्रतिवेदन अनुसार कुल उजुरीमध्ये केन्द्रीय तथा मातहतका कार्यालयमा ३३ हजार पाँच सय १९ वटा उजुरी दर्ता भएका छन् ।
बाँकी उजुरी अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका हुन् ।
आयोगमा प्राप्त कुल उजुरीमध्ये तहगत आधारमा तुलना गर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै २० हजार २५ वटा रहेका छन् । यो कुल उजुरी सङ्ख्याको ४९.०३ प्रतिशत हो ।
संघसँग सम्बन्धित उजुरी १५ हजार पाँच सय १२ वटा रहेका छन् भने प्रदेशसँग सम्बन्धित उजुरी पाँच हजार तीन सय पाँच वटा रहेका छन् । जुन तहगत रुपमा तुलना गर्दा सबैभन्दा थोरै हो ।
आयोगमा उजुरी परेका १० वटा मन्त्रालयमध्ये सबैभन्दा धेरै उजुरी भूमि,व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित छन् । यस मन्त्रालयसँग सम्बन्धित उजुरी ३ हजार ३६ वटा छन् ।
त्यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित १ हजार नौ सय ८३, गृह मन्त्रालयसँग सम्बन्धित १ हजार सात सय ५७ वटा, पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित उजुरी १ हजार ९५ वटा छन् ।
अर्थ मन्त्रालयसँग सम्बन्धित उजुरी ८ सय ७७ वटा, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय ८ सय १६, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय ६ सय ५७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मुद्दा पाँच सय ६३ वटा रहेका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय पाँच सय ४८ र सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित तीन सय ९९ वटा उजुरी रहेका छन् ।