सोमवार, आश्विन ५ गते २०८३

विशेष अदालतमा दायर गरेको भ्रष्टाचारसम्बन्धी आधा मुद्दामा हार्छ अख्तियार

बिहिवार , आश्विन १, २०८३

काठमाडौं । विशेष अदालतमा दायर गरिएका भ्रष्टाचार मुद्दामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोग आधा मुद्दामा पराजित हुने गरेको छ । अर्थात आधा मुद्दामा आयोगको विपक्षमा फैसला हुने गरेको छ ।

यसले आयोगले आदतलमा मुद्दा दायर गर्दा पेस गरेका प्रमाण तथा दाबी कमजोर रहेको देखिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२।०८३ मा  भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा एक सय ७५ वटा मुद्दा दायर गरेको छ ।

अदालतमा दायर गरिएको मुद्दामध्ये एक सय ५६ वटाको फैसला प्राप्त भएको विहिबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शुरेस न्यौपानेले जानकारी दिए । 

अदालतमा दायर गरिएको मुद्दाको फैसला दर ५१.९२ प्रतिशत रहेको छ । यसको अर्थ आयोगले अदालतमा दायर गरेको मुद्दामध्ये आधा जति मात्रै जित्ने गरेको छ ।

तर, अदालतको फैसलामा चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको छ ।

आयोगकै पक्षमा अदालतले गरेको फैसलामा पनि दोषीलाई तोकिएको दण्ड र जरिवानाको विषयमा पनि आयोगले असन्तुष्टि जनाउने गरेको छ । 

विशेष अदालतको फैसलामा चित्त नबुझेर आयोगले एक वर्षको अवधिमा एक सय चार वटा पुनरावेदन सर्वोच्च अदालतमा दर्ता गरेको छ ।

साथै, आफ्नो पुनरावेदनउपर सर्वोच्च अदालतले गरेको फैसलामा समेत चित्त नबुझी आयोगले सर्वोच्च अदालतमै ३ वटा पुनरावलोकन निवेदन गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोगमा एक वर्षमा ४० हजार आठ सय ४२ वटा उजुरी कायम भएका छन् । 


आयोगको आर्थिक वर्ष ०८२।०८३ को छत्तिसौं वार्षिक प्रतिवेदन अनुसार कुल उजुरीमध्ये केन्द्रीय तथा मातहतका कार्यालयमा ३३ हजार पाँच सय १९ वटा उजुरी दर्ता भएका छन् ।

बाँकी उजुरी अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार