काठमाडौं। हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला भएको छ । तिजका दिन भदौ २९ गते भक्तजनका निम्ति विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तिजमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले भक्तजनको सहज व्यवस्थापनका निम्ति मन्दिरबाहिर पाँच लाइनको व्यवस्था गरिएको छ। मन्दिर परिसरमा प्रवेश गरेपछि आठ लाइनको व्यवस्था गरिएको हो।
तिजका दिन दर्शनमार्ग मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलको पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाइएको कोषले जानकारी दिएको छ ।
तिजका दिन काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका निम्ति छुट्टाछुट्टै पार्किङस्थल तोकिएको छ । विशिष्ट व्यक्तिका सवारीसाधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था गरिएको छ ।
अरू सवारीसाधनका निम्ति भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको कोषकी सदस्य संगीताकुमारी रामले जानकारी दिइन् ।
कोषले पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई बहुमूल्य गरगहना नलगाई आउन र साना बालबालिकालाई साथमा नल्याउन समेत आग्रह गरेको छ ।