काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहज्यू र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा सम्माननीय प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए। साथै, बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको सो अवसरमा प्रधानमन्त्री शाहले बताए ।
बाढी प्रभावितको लागि न्यूजिल्याण्डले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरे ।
विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगको लागि अनुरोध गरे।
सो क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गरे ।