सोमवार, आश्विन ५ गते २०८३

रूपन्देहीका १२ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

मंगलवार , भाद्र २३, २०८३

काठमाडौँ । रूपन्देहीमा १२ हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपिभी खोप लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले भविष्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सर रोकथामको लागि विगत तीन वर्ष देखि किशोरीहरूलाई एचपिभी खोप लगाउने अभियान सञ्चालन गर्दै आएको छ। 

सोही अनुरूप यस वर्ष जिल्लाका सबै पालिकामा रहेका विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरी र विद्यालयभन्दा बाहिर रहेका १० वर्षका गरी १२ हजार ९० जना किशोरीलाई खोप लगाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जानकारी दिइन्। यी मध्ये ११ हजार ७०९ जना कक्षा ६ मा पढ्ने किशोरी छन् भने ३८१ जना विद्यालय भन्दा बाहिर रहेका १० वर्षका किशोरी छन्।

रूपन्देहीमा गत वर्ष १२ हजार ४१९ जनालाई एचपिभी खोप लगाइएको थियो। त्यो भन्दा अघिल्लो वर्ष २०८१ सालमा ५८ हजार ९ सय किशोरीलाई एचपिभी खोप लगाएको थियो।

दुई चरणमा सञ्चालन गरिने खोप अभियान अन्तर्गत पहिलो चरणमा असोज ५ गतेदेखि ८ गतेसम्म जिल्लाका ११ वटा पालिकामा र बाँकी रहेका ५ वटा पालिकामा असोज १२ गतेदेखि १५ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार