काठमाडौं । बाढीपछि विभिन्न स्थानमा फेला परेका थप ९० शव काठमाडौंमा व्यवस्थापन गरिँदैछ । त्यसका लागि आज बेलुकी जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ ।
विभिन्न स्थानमा फेला परेका शवमध्ये करिब ९० शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । यसअघि पनि काठमाडौंमा पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन २०८३ बमोजिम डीएनए स्याम्पल सुरक्षित राख्दै ‘व्यवस्थापन संरक्षण’ गरिएको थियो । त्यस्ता शव भदौ १६ गते गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकास्थित नेपाल ट्रष्ट स्वामित्वको वन क्षेत्रमा व्यवस्थापन गरिएको थियो ।
त्यही ठाउँमा थप शव व्यवस्थापन गर्न सकिने वा नसकिनेबारे अध्ययन भइरहेको छ । यदि गोकर्णेश्वरमा व्यवस्थापन गर्न नसकिए ललितपुर र भक्तपुरका उपयुक्त स्थान खोजी हुने भएको छ ।शवको डीएनए परीक्षणपछि आफन्तले दाबी गरेमा उपलब्ध गराइने भएको छ ।
व्यवस्थापन गरिएका शवहरूको डीएनए स्याम्पल सुरक्षित राखिएको र आफन्तले दाबी गरेमा डीएनए परीक्षणपछि दिन सकिने छ । ती शव दाबी गर्न महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।