काठमाडौँ । गण्डकी प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटालाई नियुक्त गर्ने तयारी गरिएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई आजै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।उनको शपथ बिहान साढे ११ बजे गराउने तयारी छ।
‘मन्त्रीको नियुक्ति आजै हुँदैछ,शपथका लागि तयारी गरिएको छ,’ मुख्यमन्त्रीको सचिवालयले भन्यो।आज एक जनामात्रै मन्त्री नियुक्त गर्ने तयारी रहेको सचिवालयले जनाएको छ।
देवकोटालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो भने लागिसकेको छैन।गण्डकी प्रदेश सभामा नेसपाबाट देवकोटा मात्रै सांसद छन्।
एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि गण्डकी सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भूमि व्यवस्था, कृषि तथा सहकारी, स्वास्थ्य र उद्योग तथा पर्यटन मन्त्रालय रिक्त छन्।