पोखरा । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार निश्चित रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम तथा प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम योगदान गरिनेछ।
त्यस्तै, उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक, सहायक प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ७ दिनको, उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक, सहायक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ५ दिनको र श्रेणीविहीन कर्मचारीबाट २ दिनको सुरु तलब बराबरको रकम कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ।
विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालयले उक्त निर्णय गरेको हो।
विश्वविद्यालयबाट संकलित रकम करिब ७० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।