काठमाडौं । नुवाकोटको त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनामा इन्टनसिप गर्न गएका काठमाडौँ विश्वविद्यालय (केयू) मा अध्ययनरत सिभिल इन्जिनियरिङका तीन विद्यार्थी सम्पर्कविहीन भएका छन् ।
उनीहरु केयूको स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत थिए । केयूका सूचना अधिकारी डा. दिनेश काफ्लेका अनुसार सम्पकीविहीन हुनेहरुमा शिशिर गिरी, समिर पौडेल र सृष्टि वास्तोला छन् ।
उनीहरु सिभिल इन्जिनियरिङको चौथो वर्षमा अध्ययनरत थिए । ती विद्यार्थीलाई इन्टनसिप गर्न तीन दिनअघि मात्रै पठाइएको थियो ।
डा. काफ्लेका अनुसार, तीन जना विद्यार्थीमा विद्यार्थीको खोजी गर्न केयूले खोज उद्धार तथा समन्यय समिति गठन गरेको छ ।
साथै, काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालको टोली बाढी प्रभावित क्षेत्रमा उपचार तथा मानीवय सहायताको लागि बुधबार नै परिचालन गरिसकिएको विश्वविद्यालयका रजिष्ट्रार प्राडा राजीव श्रेष्ठले जानकारी दिए । ।