काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको सर्वाङ्गीण विकासका लागि आवश्यक नीतिगत तथा कार्यमूलक अनुसन्धान गर्ने उद्देश्यले ‘मेयर्स रिसर्च फेलोसिप २०८३’का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ ।
महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक नेपाली अनुसन्धानकर्ताहरूबाट प्रस्ताव माग गरेको हो ।
यस फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य प्रमाणमा आधारित नीति निर्माण गर्न, नीतिगत अनुसन्धान र सहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न कार्यमूलक अनुसन्धानलाई सहयोग पुर्याउनु रहेको छ ।
महानगरले सहरका विविध आयामहरूसँग सम्बन्धित विषयमा ठोस र व्यावहारिक अनुसन्धानमार्फत विकास प्रक्रियालाई थप व्यवस्थित र वैज्ञानिक बनाउन यो कदम चालेको जनाएको छ ।
सूचनाअनुसार, तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताहरूले यो सूचना प्रकाशित भएको मितिले २१ ९एक्काइस० दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेश गरिसक्नुपर्नेछ । आवेदनका लागि विस्तृत विवरण तथा शर्तहरू महानगरपालिकाको वेबसाइटमा प्रकाशित ‘कल फर एक्सप्रेसन अफ इन्ट्रेस्ट’मा उल्लेख गरिएको छ ।